अच्युत सुबेदी, झापा –
झापामा सञ्चालित अटो रिक्साको भाडा सम्बन्धित निकायले स्पस्ट नतोकिदिँदा त्यससँग सम्बन्धित मजदुर मारमा परेका छन् । भाडाकै बिषयमा दैनिक एक–दुइ मजदुरले यात्रुबाट भौतिक तथा कानुनी कार्वाही भोग्नुपर्दापनि भाडा नतोकिएकै बिषयमा समस्या भैरहेको पूर्वेली मजदुर यातायात प्रा.लि. झापाका सचिव गणेश कोइरालाले बताए ।
स्थानिय तहसँग यो बिषयमा कुरा राख्दा एउटा स्थानिय तहले मात्र भाडा तोक्न नमिल्ने बताउने गरेको छ । जिल्ला समन्वय समितिमा यो समस्या केहि अगाडीबाट राखेको भएपनि सुनुवाइ नभएको कोइरालाको गुनासो छ ।
झापामा अटो व्यवसाय सुरु भएको लामो समय हुँदा इन्धनको मुल्य धेरै पटक बढेपनि भाडाको बिषयमा भने एकरुपता नभएको र भाडा बढाउन र समायोजन गर्न सम्बधित निकायले चासो नदिँदा समस्या भएको कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले लेखेका छन्, “हामी अटो टेम्पो चालक मजदुर आज भन्दा ६ बर्ष अगाडिको रिक्साको भाडामा यात्रुलाई सेवा दिदै आएका छौँ । हिजो ९६ रुपैयाँ प्रति लिटर पेट्रोल हुँदा हामी २ कि.मि. सम्मको २० रुपैयाँमा यात्रुलाई सेवा दिदै आएको सबैमा जानकारी नै छ । तर, आज पेट्रोल १२६ रुपैयाँ ५० पैसा हुँदा पनि भाडा वृद्धि हुन सकेको छैन र आजको मिति सम्म अटो टेम्पोको आधिकारिक भाडा नभएको हुदा दिनानुदिन हाम्रा मजदुर चालकहरुले यात्रुहरुको कुटाइ खानु परेको छ । यात्रु पनि ठगिँदै आएको सबैमा जानकारी नै छ । यस्तो समस्याको हल कहिले गर्ने ? हाम्रा मजदुरले भाडा दर कहिले र काहाँबाट पाउने ? यो बिषयमा सम्बन्धित निकायको ध्यान जाओस । हामी हाम्रो हक अधिकारको खोजिमा छौँ ।”
यति मात्र हैन यस्ता सवारीसाधनका चालकहरुसँग लाइसन्स, व्लुबुक र आवश्यक कागज पत्र छैन । उनीहरुसँग नेपाली नागरिकता सम्म पनि नभएका धेरै उदाहरण छन् । कोइराला भन्छन्, “त्यस्ता व्यक्तिलाई समेत कार्वाहि हुने गरेको छैन । बिदेशि नागरिकलाई अटो कुदाउन दिएर नेपाली मजदुरले काम नपाउने गरेका छन् । दुर्घटना भैहाले उनीहरुलाई कार्वाही समेत हुँदैन ।”
बिवाद भएको खण्डमा ट्राफिक प्रहरीले समेत भाडादर माग्ने गरेका कारण सम्बन्धित संघ–संगठनलाई समेत समस्या भएको छ । यसका लागि पनि सम्बन्धित निकायले निश्चित नियम कानुन सँगै भाडादर कायम गरिदिन पूर्वेली मजदुर यातायात प्रा.लि.ले अनुरोध गरेको छ । यो बिषयमा चाडै सम्बोधन नगरे आन्दोलन सम्मका कार्यक्रम गर्ने प्रा.लि.ले चेतावनी दिएको छ ।