1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ९ मंगलबार

मेचीनगरमा ५० लाखको गोबर ग्यास प्लान्ट वर्षौँदेखि प्रयोगविहीन, फोहोर फाल्ने डसबिन बन्यो



झापा

झापाको मेचीनगरमा पाँच वर्षअघि निर्माण गरिएको गोबर ग्यास प्लान्ट प्रयोगविहीन बनेको छ । पूर्व–पश्चिम राजमार्गदेखि ५० मिटर दक्षिण मेचीनगर नगरपालिका–१० स्थित टिमाई पुल नजिकै रहेको धुलाबारी पशुहाट बजार परिसरभित्र प्रयोगविहीन गोबर ग्यास प्लान्ट अहिले जीर्ण अवस्थामा छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आर्थिक सहयोग र मेचीनगर नगरपालिकाको सहकार्यमा आर्थिक वर्ष २०७१÷७२ मा ५० लाख रुपैयाँ बराबरको बजेट खर्चिएर पशुहाट बजारभित्र गोबर ग्यास प्लान्ट निर्माण गरिएको थियो । मेचीनगर नगरपालिकाले सरकारी सम्पत्तिको संरक्षणसँगै प्रयोगमा नल्याउँदा सरकारको लाखौँ लगानी खेर गएको स्थानीयवासीले बताएका छन् । गोबर ग्यास प्यान्ट क्षेत्र अहिले फोहोर मैला फाल्ने डसबिनमा परिणत भएकोमा स्थानीयले गुनासो समेत पोखेका छन् ।

लामो समय जनप्रतिनिधि विहीन भएको अवस्थामा नगरपालिका कर्मचारी संयन्त्रको पालनामा सो प्लान्ट निर्माण गरिएको थियो । प्यान्ट निर्माण सम्पन्न भएपछि आफूहरूले त्यसको प्रत्यक्ष सुविधा लिने आशा पलाएको बताउँदै स्थानीय राजकुमार दनुवारले, ‘तर त्यो अवस्था नगरपालिकाले दिएन, प्रयोगविहीन हुँदा अहिले सो प्यान्ट जीर्ण अवस्थामा छ, जहिले पनि भत्किन सक्छ ।’

‘नगरपालिकाको बेबस्ता कारण सो क्षेत्र दुर्घटना घट्न सक्ने जोखिममा परिणत भएको छ, गाउँघरका केटाकेटी खेल्ने क्रममा प्लान्टभित्र लडे भने अकालै ज्यान गुमाउनु पर्ने हुन्छ,’ उनले भने । हाम्रो गाउँघर नजिकै नगरपालिकाले प्यान्ट त बनायो, तर यसलाई प्रयोग नल्याउँदा सरकारको लाखौँ बजेट मात्र डुबाएकोमा स्थानीय कुमारी दनुवारले चिन्ता व्यक्त गरिन् । ‘नगरपालिकाले त्यो बजेटबाट प्यान्ट निर्माण नगरी खोलामा तटबन्ध लगाएको भए सहज हुन्थ्यो,’ उनले भनिन् ।

लामो समयसम्म प्लान्टलाई प्रयोगमा नल्याउनुको पछाडि नगरपालिकाका कर्मचारीहरूको मिलेमतो र कमिसनको खेल हुन सक्ने स्थानीयले आरोप समेत लगाएका छन् । नगरपालिकाले समयमै प्लान्टलाई प्रयोग ल्याउनुका साथै संरक्षण गर्दा अहिले त्यसलाई भत्काउनु पर्ने अवस्था आउन थिएन । लामो समय प्रयोगविहीन हुँदा अब त्यसलाई भत्काउनु बाहेक अन्य विकल्प नरहेको मेचीनगर नगरपालिका १० नम्बर वडा अध्यक्ष सुदय पनेरुले बताए ।

‘दीर्घकालीन योजना बगेर नगरपालिकाले लाखौँ बजेट खर्चिएर प्लान्ट बनाउनु कार्य नै त्यस बेला गलत भयो,’ वडा अध्यक्ष पनेरुले भने, ‘प्यान्ट त बनाइयो, तर यसलाई एक चोटि पनि सुचारु गरेको मेरो जानकारी छैन, कसले, कसरी र कसको योजनामा प्यान्ट बनाएको यस विषयमा खोज्नु पर्ने अवस्था आएको छ ।’ सरकारको लाखौँ रकम डुबाउने योजना सरसर गलत भएको उनको भनाई छ ।

आँगन एफएमबाट

Comment