झापा-
कोरोना भाइरसको सङ्क्रमणबाट झापाका ट्राभल्स तथा पर्यटन व्यवसायी गोपाल खनालको निधन भएको छ । जिल्ला ट्राभल्स सङ्घ, झापाका उपाध्यक्ष तथा भद्रपुर नगरका अध्यक्ष समेत रहेका भद्रपुर नगरपालिका-८ निवासी ५६ वर्षीय खनालको उपचारको क्रममा सोमबार बिहान बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा निधन भएको हो ।
खनाल ट्राभल्स सङ्घसहित धार्मिक संस्था मङ्गल सेवा समिति भद्रपुर, झापा उद्योग वाणिज्य सङ्घका सदस्य लगायत विभिन्न सङ्घसंस्थामा आबद्ध भई सामाजिक कार्य समेत गर्दै आइरहेका थिए । खनाललाई साउन २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि स्वास्थ्यमा थप समस्या आएपछि उनले पुनः भदौ ९ गते कोरोना परीक्षण गराउँदा फेरि पनि संक्रमण पुष्टि भएको थियो । त्यसपछि थप उपाचारका लागि बिएण्डसी अस्पतालमा भर्ना गराइएको थियो । उनलाई विगत केही दिनदेखि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइरहेको अस्पतालले जनाएको छ । उनको शवलाई नेपाली सेनाको शव व्यवस्थापन टोलीले प्रक्रिया पुरा गरी भद्रपुर ल्याउने तयारी भइरहेको जनाइएको छ ।