झापा –
सशस्त्र प्रहरीले प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित दुई महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ जिल्ला सुन्दरहरैँचा-१० निवासी ३९ वर्षीया विमला ढकाल र शिवसताक्षी-७ निवासी २१ वर्षीया निशा जोगी रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिए । भारत पुगेर फर्किएका ती महिलाद्वय मङ्गलवार साँझ ५ बजे लुकिछिप ज्यामिरगढी नाकाबाट नेपाल प्रवेश गरेका थिए ।महिलाद्वय मेचीनगर नगरपालिका १५ स्थित कालिका टी स्टेट क्षेत्रबाट प्रवेश गरेपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ज्यामिरगडीबाट खटिएका सप्रनानि यमप्रसाद दाहालको टोलीले शङ्का लागी चेकजाँच गरेका थिए । सशस्त्र प्रहरीले चेकजाँच गर्नुअघि ती महिलाद्वयले ल्याएको ब्राउन सुगर खेतबारी फालेका थिए ।
त्यसपछि सशस्त्र प्रहरीले खेतबारीबाट १६ ग्राम १५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको डिएसपी भण्डारीले बताए । साथै सशस्त्र प्रहरीले उनीहरूको मोबाइल तीन वटा , नेपाली नगद १२ हजार १०५, इन्डोनेसियन एक हजारको नोट, नेपाली नागरिकता र डायरी बरामद गरेको थियो । ब्राउन सुगरसहित पक्राउ परेका महिलाद्वयलाई आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय झापामा बुझाइसकेको जनाइएको छ ।