1 2 3 4 5 6 7 8 9 10 11 12
Jhapa Khabar
२०८१ पुष ११ बिहिबार

भद्रपुर गलगलिया सीमा नाका खुलाउन उद्योगी व्यवसायीको माग, बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र



झापा-

भद्रपुर गलगलिया सीमा नाका खुलाउन उद्योगी व्यवसायीले सरकारसमक्ष माग गरेका छन् । कोरोना महामारीले विगत १७ महिनादेखि बन्द रहेको भद्रपुर नाका खुलाउनु पर्ने माग राख्दै झापा उद्योग सङ्घ जिल्ला कार्य समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाएका छन् । झापा उद्योग सङ्घका अध्यक्ष यमबहादुर श्रेष्ठको नेतृत्वमा गएको टोलीले झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई सो मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । टोलीमा नेपाल उद्योग वाणिज्य सङ्घ प्रदेश १ का अध्यक्ष टीकाराज ढकाल, उद्योग सङ्घका झापा उपाध्यक्ष दीपेश ढकाल, सचिव प्रदीपमणि रेग्मी र सदस्य विनय गोयलको उपस्थिति रहेको थियो । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले उद्योगी व्यवसायीको माग सम्बोधनका लागि यथाशीघ्र प्रधानमन्त्री कार्यालयलाई सो ज्ञापनपत्र पठाइदिने र नाका खुलाउने बारेमा माथिल्लो निकायसँग सहजीकरण गर्ने बताए ।

प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, जिल्लाकै पुरानो सहरको रुपमा परिचित भद्रपुर आर्थिक विकासमा पछि पर्दै जाँदा यहाँको व्यापार व्यवसाय घट्दो क्रममा र बिस्तारै बिस्तारै यस क्षेत्रका व्यापारी र उद्यमीहरू पलायन भइरहेका छन् । विकासका अन्य चरणहरूमा विविध खाले समस्यासँग जुधिरहेको भद्रपुरवासी कोरोना काल सुरु भएदेखि नै भारतीय नाका गलगलिया, देवीगञ्जसँग भद्रपुर नाका जोडिएको छ । धेरै वर्षको प्रयासपछि निर्माण भएको मेची पुल उद्घाटन भएर पनि यहाँका नागरिकले प्रयोग उपभोग गर्ने नपाई भद्रपुर नाका बन्दको अवधि १७ महिना पुगिसकेको छ । यस बिचमा जिल्ला र जिल्ला बाहिरका पनि धेरै नाकाहरू खुल्दै बन्द हुँदै गरे पनि भद्रपुर नाका बन्द भएपछि अहिलेसम्म खुलेको छैन ।

भद्रपुर नाका बन्द हुँदा यी सबै अवस्थाबाट पीडित बन्दै आएका यहाँका बासिन्दा नभई मुलुकले नै घाटा व्यहोर्नु परेको प्रधानमन्त्री समक्ष राख्दै स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरूको पालना गर्न र कोभिडबाट बच्ने बचाउने हर सम्भव प्रयासमा हातेमालो र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै राज्यको आर्थिक वृद्धिका लागि भद्रपुर नाका खोल्न खुलाउन जोडदार माग गर्दछौँ । भद्रपुर नाका नखुल्दा भद्रपुर लगायतका दक्षिणी क्षेत्रका बासिन्दा चर्को शुल्क र समय खर्चिएर काँकडभिट्टा नाका पुग्नु पर्ने बाध्यता बेहोर्दै आइरहेको छ ।

Comment