झापा-
संखुवासभाको मादी नगरपालिका वडा नम्बर १ मा भएको सामूहिक हत्या पारिवारिक कुण्ठाका कारण भएको पाइएको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका २६ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गर्दै प्रदेश १ प्रहरी कार्यालयका डीआईजी अरुण बिसीले पारिवारिक कुण्ठाका कारण हत्या भएको पाइएको आज पत्रकार सम्मेलनमा बताए ।
लोकबहादुरलाई काका नाताका मृतक तेजबहादुर कार्कीले सम्झाइबुझाइ गर्ने गरेका र त्यसलाई लोकबहादुरले आफ्ना छोरा विदेश गएर कमाए भनी काकाले आफूलाई हेपाईको रूपमा बुझेका कारण हत्यासम्मको अवस्था आएको पाइएको डीआईजी बिसीले जानकारी दिएका छन् ।
लोकबहादुरले एउटै चिर्पटले ६ जनाको हत्या गरेको खुलेको छ । बिहानै आफूलाई खेताला बोलाउन घरमा आएका काकालाई पछ्याउँदै गएर बाटोमा चिर्पटले हानेको र काका ढलेको देखे पछि काकी, भाउजु र दुई नाबालाक भतिजो र भतिजीलाई पनि त्यही चिर्पटले हानेर हत्या गरेको लोकबहादुरले बयान दिएका छन् । हजुरआमा अर्थात् तेजबहादुरकी आमालाई भने घरमै गएर हत्या गरी चिर्पट आगोमा हालेर फर्किएको लोकबहादुरले बयान दिएका छन् ।
लोकबहादुरका हजुरबुबा र मृतक तेजबहादुरका बुबा बौद्धमान दाजु–भाइ हुन् । उनीहरूको घर नजिकै रहेको छ । हत्या आरोपी लोकबहादुर मानसिक रोगीसमेत रहेका प्रहरीले जनाएको छ । आरोपी लोकबहादुरले दिएको बयानमा तेजबहादुरले आफूलाई अल्छी, जाँगर नभएको लगायत शब्द प्रयोग गर्ने, गाली गर्ने जस्ता कार्य गरेकोले हत्या गरेको बयान दिएका छन् ।